थारु बस्तीमा माघीको उल्लास
माेती रत्न
कैलाली
विचार/लेख
अहिले पश्चिम नेपालका थारू समुदायमा माघीको उल्लास छाएको छ । कैलाली, कञ्चनपुर लगायतका थारु बस्तीमा माघीको रमजम सुरु भएको हो । माघ सुरु नहुँदै थारु समुदाय पुषलाई बिदाइ गर्न सर–सामान जोहो सुरु गर्न व्यस्त देखिन्छन् ।
उनीहरू अहिले घर लिपपोत गर्न, जाँड, ढिक्री, रोटी लगायतका परिकार बनाउन व्यस्त छन् । थारु समुदायले माघीलाई विशेष पर्वको रूपमा लिने गर्दछन् ।
माघी अर्थात संक्रान्तिको दिनमा थारु समुदायमा महत्वपूर्ण निर्णय गरिन्छ । हप्ता दिनसम्म मनाइने माघी पर्व अन्तरगत थारु समुदायले विभिन्न क्रियाकलाप गरी मनाउने गर्छन् । नयाँ वर्षको रूपमा मनाउने यो पर्वमा थारु समुदायले सद्भाव तथा आत्मिक प्रतीकको रूपमा समेत लिने गरेको धनगढीका स्थानीय फुलराम थारुले बताए । ‘माघे संक्रान्ति आउनुभन्दा २ दिन अगाडिदेखि नै थारु समुदायमा माघी पर्वले छोइसकेको हुन्छ’ उनले भने ।
माघ १ गते अर्थात माघीको दिन उज्यालो नहुँदै बिहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ । वर्षभरि नुहाउँदै आए पनि माघीमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ । नुहाउनुभन्दा अगाडि पानीमा वा नदी किनारमा पैसा राख्ने परम्परा रहेको थारु पत्रकार अभिनास चौधरीको भनाइ छ । माघीमा नुहाउँदा जल किन्नु पर्ने परम्परागत मान्यताका साथ पैसा छोड्ने चलन कायम रही आएको उनले बताए । ‘अरु बेला सित्तैमा नुहाउने गर्दछौं । तर, माघीमा पानी किनेर मात्रै नुहाउनुपर्छ भन्ने मान्यता छ ।’
माघी नुहाइसकेपछि समुदायका व्यक्तिले नदी किनारबाटै एक आफसमा शुभकामना आदानप्रदानका साथै, ‘सेवाढोग’गर्दछन् । नुहाउनेले घरमा एउटा ढकियामा छुट्टै राखिएको चामल, नून, बेसार जस्ता सामग्री छुने परम्परा छ । त्यसपछि घरको सबैभन्दा पूर्खालाई सबैभन्दा पहिले ढोग गर्दै आशिष थापिन्छ । पूर्खा, मान्यजन सबैलाई उमेरको वरियता अनुसार सेवाढोग गर्दै माघीको खुशीयाली तथा शुभकामना साटासाट गर्ने गरिन्छ । यसलाई ‘सेवा लग्ना’ भनिन्छ । सेवाढोगको कार्य परिवार हुँदै इष्टमित्र, आफन्त, छरछिमेक, गाउँघरसम्म हुन्छ ।
पुसको अन्तिम दिन घर-घरमा सुँगुर काट्ने चलन थारु समुदायमा छ जसलाई 'जिता-मरना' भनिने गरेको थारु अगुवा माधव चौधरीले बताए । ‘यो दिन जिता मारेर हरेक घरमा मासु परिकार खाने खानपानको दिन हो’, उनले भने ।

Comments
Post a Comment