पूर्व प्राथमिक तहका कक्षामा बालबालिकालाई पढाउनु नहुने बताएका

ललितपुर,  माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बालबालिकाको भविष्य निर्माण गर्ने र बच्चालाई भोलि कस्तो नागरिक बनाउने भन्ने कुरामा मन्टेश्वरीको हात रहने बताउँदै कुनै पनि पूर्व प्राथमिक तहका कक्षामा बालबालिकालाई पढाउनु नहुने बताएका छन् ।
नेपाल मन्टेश्वरी एशोसियसन (एनएमए) को आयोजनामा ललितपुरस्थित प्रिमियर इन्टरनेशनल आइ.बि वल्र्ड स्कुलमा भएको ‘एनएमएको निरन्तर व्यावसायिक विकास कार्यक्रम २०२०’ मा उनले पूर्व प्राथमिक तहमा बालबालिकाको व्यक्तित्व विकासमा जोड दिनुपर्ने उल्लेख गरे । उनले भने, ‘पूर्व प्रारम्भिक तहका बालबालिकालाई पढाउने काम गर्नुहुँदैन । उनीहरुलाई विद्यालय प्रवेश गर्नुअघि आधारभूत कुरा सिकाउने मात्रै हो । त्यहाँ त बच्चाको व्यक्तित्व विकासमा केन्द्रित हुनुपर्छ । प्रत्येक बालकमा क्षमता हुन्छ, त्यो क्षमतालाई देखाउने र फैलाउने काम प्रि–स्कुलको हो । विद्यार्थीलाई स्वतन्त्र वातावरणमा खेल्न र आफ्ना कुरा भन्न लगाउने वातावरण सृजना गरे मात्र उनीहरुको व्यक्तित्व विकास हुन्छ ।’
उनले प्रारम्भिक बालविकासमा केन्द्रीय सरकार नअल्मलिने र कानूनअनुसार स्थानीय सरकारले नै यसको जिम्मेवारी लिनुपर्नेमा प्रष्ट पारे । त्यस्तै इसिडिको जिम्मेवारीको कुरा गर्दै इसिडि शिक्षा मन्त्रालयको भन्दा पनि यसमा बालविकासका कुरा बढी हुने भएकाले महिला तथा बालबालिका मन्त्रालय र स्वास्थ्य मन्त्रालयको भूमिका रहने उनले औल्याए । उनले प्रि–स्कुलले स्थानीय सरकारले बनाएको मापदण्डअनुसार स्थानीय तहसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिए ।
कार्यक्रमका सभापति एवं एनएमएका केन्द्रीय अध्यक्ष पवित्रा लिम्बुले प्रारम्भिक बालविकासका शिक्षक सशक्तिकरण र उनीहरुको व्यावसायिक विकासका लागि सो कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनका प्राध्यापक डा. लक्ष्मण ज्ञवालीले ‘सबै बालबालिका एउटै नहुने र प्रारम्भिक बालविकासका कक्षाकोठामा फरक निर्देशन’ विषयमा प्रस्तुती दिएका थिए । उनले सहभागी शिक्षकहरुलाई विषय पढाउनुहुन्छ कि बच्चा पढाउनुहुन्छ भनि प्रश्न गरेका थिए । बालबालिका फरक हुने बताउँदै उनले भने, ‘बच्चाहरु गति, ध्यान, व्यक्तित्वलगायतका कुराबाट भिन्न हुन्छन् । सबै फुलहरु एकै पटक नफुले झै सबै बच्चाहरु एउटै गतिमा अघि बढ्न सक्दैनन् । बालबालिकालाई उनीहरुको स्वभाव अनुसार फरक व्यवहार गर्नुपर्छ ।’
त्यस्तै प्रिमियर इन्टरनेशनल स्कुलकी एकेडेमिक डाइरेक्टर प्रभिना थापाले ‘२१ औँ शताब्दीको प्रारम्भिक बालविकासको दृष्टिकोण’ बारेमा आफ्नो प्रस्तुती प्रस्तुत गरेकी थिइन् । उनले शिक्षकहरुले नै विद्यार्थीको सृजनशीलता मारिरहेको प्रसंग जोड्दै अहिलेको शिक्षा पुरानै पद्धतिको बनाउन नहुने बताइन् । उनले २१ औँ शताब्दीको सि, सृजनशीलता, जिज्ञासा र लगनशिलतामा बालबालिकालाई पूर्व प्राथमिक शिक्षकहरुले ध्यान दिनुपर्ने सुझाव दिइन् ।
प्रारम्भिक शिक्षणमा संलग्न ३ सयभन्दा बढीको सहभागीतामा सम्पन्न उक्त कार्यक्रममा मन्टेश्वरी शिक्षा र कक्षाकोठा व्यवस्थापन लगायतका एक दर्जन विषयहरुमा कार्यशाला तथा छलफल भएको थियो । पहिलो कार्यशाला मन्टेश्वरी भाषा, कक्षाकोठामा प्रभावकारी कथाको प्रयोग, मन्टेश्वरी संस्कृति, कक्षाकोठामा बच्चालाई प्रबन्ध गर्ने रहस्य, प्रि–स्कुलका शिक्षकहरुले कसरी आत्मियताका साथ बालबालिकालाई चिन्ने र समर्थन गर्ने र प्रिन्सिपलका लागि सामाजिक सुरक्षा कोषको परिचयका विषयमा केन्द्रित रह्यो ।

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान