कैलारी संवाददाता,
बौनिया, २३ पुष । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सेती लोकमार्ग निर्माणले तीव्रता पाउने बताएका छन् । कैलालीको बौनिया बजारमा आयोजित बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टले अब कुनै पनि कारणबाट राजमार्गको निर्माण अलमलमा नपर्ने बताए ।
सेती लोकमार्ग निर्माणका लागि आफूले पहल गरेको उनले बताए । यही सरकारको पालामा लोकमार्ग निर्माणले पूर्णता पाउने मन्त्री भट्टले दावी गरे । ‘केही कारणले गर्दा लोकमार्ग निर्माणको काम सुस्त भयो । अब निर्माणले तीव्रता लिन्छ ।’ उनले भने, ‘हाम्रै पालामा यसको निर्माण सम्पन्न हुनेछ ।’
लम्कीचुहा नगरपालिका–३, डुडेझारीमा औद्योगिक क्षेत्र निर्माणका लागि कागजी प्रकृया पूरा भएको मन्त्री भट्टले जानकारी दिए । अब औद्योगिक क्षेत्र स्थापनाको भौतिक काम अगाडि बढ्ने उनले बताए । वातावरणीय प्रभाव मूल्यांकनलगायत प्रक्रिया पुरा भइसकेकोले औद्योगिक क्षेत्रको शिलान्यास चाँडै हुने विश्वास मन्त्री भट्टले व्यक्त गरे ।
महोत्सव उत्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य झपटबहादुर रावल, सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी, प्रदेश सांसद एवम् नेकपा कैलालीका अध्यक्ष रतन थापा, प्रदेश सांसद बिरमान चौधरी, नन्दबहादुर साउँद, कैलाली जिल्ला समन्वय समितिका सभापति सुर्यबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारले मन्त्री भट्टलाई तीन बुँदे मागपत्र बुझाएका थिए । सेती लोकमार्गको कामलाई तीव्रता दिइनु पर्ने, जिर्ण अवस्थामा रहेको बासुलिङ् सुगर मिल सञ्चालनमा ल्याइनु पर्ने र बर्दगोरिया गाउँपालिकामा बहुमुखी क्याम्पसको स्थापना गरिनुपर्ने माग मागपत्रमा उल्लेख छन् ।
बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा भएको महोत्सव माघ २ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवलाई करिब दुई लाख दर्शकले अवलोकन गर्ने र करिब ४० लाख रुपैयाँको कारोबर हुने आयोजकले अनुमान गरेको छ ।

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान