संदिग्ध इरानीलाई अध्यागमन विभागले पक्राउ
काठमाडौँ — संयुक्त राज्य अमेरिकाबाट जारी भएको राहदानी बोकेर नेपाल प्रवेश गरेका एक संदिग्ध इरानीलाई अध्यागमन विभागले पक्राउ
गरी फिर्ता पठाएको छ । अमेरिकाले रिचर्ड जोसेफ लिन्डेकरका नाममा जारी गरेको ५९४२२३५३२ नम्बरको राहदानी बोकेर इरानी नागरिक हसन गोल्कर रिजी मलेसिया हुँदै मालिन्दो एयरलाइन्सबाट गत शनिबार काठमाडौं ओर्लिएका थिए ।
उनलाई साधारण सोधपुछ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मलेसिया नै फिर्ता पठाएको हो । गैरकानुनी रूपमा प्रयोग गरेको अमेरिकी राहदानी पनि अध्यागमनले जफत नगरी उनैलाई फिर्ता दिएको छ ।
इरानी विशेष फौज (कुड्स) का सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानी शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा मारिएको भोलिपल्ट इरानी नागरिक हसन अमेरिकी पासपोर्ट बोकेर नेपाल आएका थिए । उनले बोकेको राहदानी ‘स्टोलन एन्ड लस्ट ट्राभल डकुमेन्ट’ (एसएलटीडी) सुविधाअन्तर्गत बनाइएको थियो । एसएलटीडीको विवरण विश्वका प्रहरीको साझा संस्था इन्टरपोलमा समेत दिइएको हुन्छ । एसएलटीडी कुनै मुलुकका व्यक्ति यात्रामा निस्कँदा राहदानी हराए वा चोरी भएमा अर्को व्यवस्था नभएसम्म सम्बन्धित देशकै कूटनीतिक नियोगले आफ्ना नागरिकका लागि जारी गरिन्छ ।

Comments
Post a Comment