कैलारी संवाददाता, धनगढी, पुस ।
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ६ का झरिलाल चौधरी जाली गाँउका भलमन्सा हुन्। गत वर्षको माघीमा भलमन्सामा छनोट भएका चौधरीले विगतमा पनि भलमन्सामै दुई पटक छनोट भएका थिए। मौलिक संस्कृती संग जोडिएको माघी पर्वमा थारु समुदायले भलमन्सा र चौकिदार छनोट गर्ने हुँदा यसबर्ष उनी फेरिनेछन्।
एक वर्षको लागि समुदायले रुचाएको व्यक्तीलाई भलमन्सा अर्थात गाँउको मुख्य व्यक्ति छनोट गर्ने गरिन्छ। यस वर्षपनि माघी नजिकिदै गर्दा थारु समुदायमा भलमन्साको खोजी भईरहेको चौधरीले बताए। ‘समुदायमा आईपर्ने समस्याको समाधानका लागि अग्रसर हुने काम भलमन्साको हुन्छ,’ उनले भने, ‘समाजमा गरेको योगदानका आधारमा भलमन्सा छनोट गर्ने परिपाटी रहेको छ।’
चौधरीले भने– ‘वर्षभरी राम्रो काम गरे एकै व्यक्ति दोहोरिएर समेत भलमन्सा हुने गर्छ।’ यो संगै थारु समुदायको बाक्लो बसोबास रहेको पश्चिम तराईका दुई जिल्ला कैलाली, कञ्चनपुरमा पनि माघीको रौनक पनि सुरु भएको छ।
नयाँ वर्ष जत्तिकै महत्वका साथ मनाईने माघीको रौनक कैलाली कञ्चनपुरका थारु बस्तीमा सुरु भएको हो। स्थानीय कला संस्कृतीलाई समेत टेवा पुग्ने गरि मनाईने यो पर्वको तयारी तीव्र रुपमा भईरहेको धनगढीका स्थानीय हर्क चौधरीले बताए। ‘कामको शिलसिलामा घर वाहिर गएकाहरु पनि माघी मनाउन घर फर्किरहेका छन्। त्यसैले रौनक बढेको छ।’ उनले भने।
सुदूरपश्चिमको मौलिक संस्कृती लोप हुदै गएका वेला माघी पर्व आधुनिक तर्फ विस्तार हुदै गएको भान थारु अगुवाहरुलाई हुन थालेको छ। ‘विगतमा थारु समुदायमा मात्र आफ्नो घरमा यो पर्व मनाउने गरेका थिए,’ धनगढीकै अर्का स्थानीय वेदप्रसाद चौधरीले भन, ‘अहिले विभिन्न थारुवस्तीमा माघी मेला, महोत्सवहरु समेत आयोजना हुने गरेको छ। माघीकै अवसरमा विभिन्न प्रतियोगिता पनि सञ्चालन भईरहेका छन्।’

Comments
Post a Comment