प्रथम चौमासिकमा गरेको प्रगति विवरण गाउँसभामा प्रस्तुत

कैलारी संवाददाता, धनगढी, २४ पुस । कैलारी गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा गरेको प्रगति विवरण गाउँसभामा प्रस्तुत
गरेको छ । 
    बिहीबार बसेको गाउँसभाको बैठकमा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गरेका हुन । सो गाउँपालिकाले प्रथम चौमासिकमा निकासा भएको कुल बजेटको ५४ प्रतिशत रकम खर्च गरेको छ । पहिलो चौमासिकमा १० करोड चार लाख ३९ हजार ४३९ रुपैयाँ निकासा भएकोमा पाँच करोड ३९ लाख एक हजार १९५ रुपैयाँ खर्च भएको जनाइएको छ । 
    यसैगरी प्रथम चौमासिकमा गाउँपालिकाले कृषितर्फ ४५ प्रतिशत, पशुसेवा कार्यक्रममा ५२ प्रतिशत, मानव संशाधन विकासमा १०० प्रतिशत प्रगति हासिल गरेको छ । पूर्वाधारतर्फ ६ प्रतिशत प्रगति भएको अध्यक्ष चौधरीले विवरण प्रस्तुत गरे । प्रथम चौमासिकमा सम्झौता भएको ५० योजनामध्ये दुई वटा सम्पन्न भएको र बाँकी ४८ वटा योजना सञ्चालनको क्रममा रहेको जनाइएको छ ।

    यसैगरी गाउँपालिकाले नौ वटा कानुनको मस्यौदा गाउँसभामा पेस गरेको छ । अध्यक्ष चौधरीले गाउँसभामा कानुनको मस्यौदा पेस गरेका हुन । पेस भएको मस्यौदामा कैलारी गाउँपालिका औद्योगिक व्यवसाय विधेयक २०७६, कैलारी गाउँपालिका सिकलसेल रोग न्यूनीकरण कार्यविधि २०७६, कैलारी गाउँपालिका प्रहरी गठन, सञ्चालन व्यवस्थापन गर्ने सम्बन्धी विधेयक २०७६ रहेको छ । यसैगरी, कैलारी गाउँपालिका व्यवसाय दर्ता तथा नवीकरण कार्यविधि २०७६, कैलारी आवास अधिकार सम्बन्धी ऐन २०७६, कैलारी स्वरोजगार विकास कोष व्यवस्थापन ऐन २०७६, कैलारी बालसंरक्षण नीति २०७६ र कैलारी खेलकुद सञ्चालन कार्यविधि २०७६ को मस्यौदा पनि गाउँसभामा पेस भएको छ । 
गाउँसभाको अर्को बैठकबाट मस्यौदामाथि छलफल हुने गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । ‘हिउँदे अधिवेसनमै यी सबै कानुन पारित हुन्छ’, उनले भने । 
    गाउँसभाको बैठकमा जनप्रतिनिधिको सेवा सुविधा रोकिँदा उत्पन्न भएको कठिनाइबारे पनि छलफल गरिएको छ । सेवा सुविधा रोकिँदा जनताको काम गर्न अप्ठ्यारो भएको निष्कर्ष निकाल्दै रोकिएको सेवा सुविधा उपलब्ध गराउनका लागि गाउँसभाले प्रदेशसभालाई आग्रह गर्ने प्रस्ताव स्कीकृत भएको प्रवक्ता चौधरीले जानकारी दिए । 
    यसैगरी, सङ्घीय र प्रदेश सरकारको वन ऐन संशोधनबारे पनि गाउँसभामा छलफल भएको छ । सङ्घ र प्रदेशको वन ऐनले स्थानीय सरकारलाई अप्ठ्यारो पारेको, स्थानीय सरकारको मातहतमा वन नरहेको लगायतमा छलफल भएको चौधरीले जानकारी दिए । गाउँसभा बैठकमा गाउँ–गाउँबीच रहेको अन्तर विरोध, किसान र बुद्धिजिवीबीच रहेको अन्तर विरोध, श्रम र चेतनाबीच रहेको अन्तर विरोध लगायतको बारेमा छलफल भएको थियो । 
    गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको अध्यक्षतामा भएको गाउँसभा बैठकमा गाउँपालिका अध्यक्ष चौधरी अतिथि रहेका थिए । बैठकमा गाउँसभा सदस्यहरु, प्रमुख प्रसाशकीय अधिकृत खगेन्द्र जोशी, सामाजिक विकास शाखा अधिकृत यगम कलेल, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीसहित कर्मचारीको उपस्थिति रहेको थियो । गाउँसभाको अर्को बैठक माघ २७ गते बोलाइएको छ । 

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान